काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे चिन्ता नगर्न आग्रह गर्दै नेतृत्व नछोड्ने स्पष्ट पारेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आफू अस्वस्थ नरहेको र बुढो भइनसकेको बताए। उनले भने, “कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको कल्पना नगरे हुन्छ।”

विद्यादेवी भण्डारीको सक्रियता र पार्टी नेतृत्वको चर्चा चलिरहेका बेला ओलीले "मिसन २०८४" लाई प्राथमिकतामा राख्दै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा उभ्याउने दाबी गरे। उनले पार्टीलाई विभाजन गर्ने षड्यन्त्र भए पनि एमाले पुनः जनताको लोकप्रिय पार्टी बनेको उल्लेख गरे।

ओलीले लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि कटाक्ष गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै भने, “लोकतन्त्र नमान्नेहरूलाई राजा चाहिएको हो? राजतन्त्रको भुलभुलैमा नफसौँ। न्याय र समानतासहितको राष्ट्र निर्माणमा अगाडि बढौँ।”

उनले विकास र सुशासनका लागि आगामी नीति तथा बजेटले देशलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए।