काठमाडौँ—नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले आन्दोलनको समयमा सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर पछि सामाजिक सञ्जालकै माध्यमबाट उनले आफ्नो राजीनामा फिर्ता गरेको जानकारी गराएका थिए।

कडरियाले पुनः अध्यक्ष पदमा फर्किन खोज्दा संगठनभित्र विवाद उत्पन्न भएको छ। बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र सम्बन्धित जिल्लाका इन्चार्जहरूले हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै भनेका छन् कि “सङ्कटको बेला भाग्ने व्यक्तिलाई नेतृत्वको रूपमा मान्दैनौँ।”

पत्रमा आन्दोलनको समयमा भाग्ने, राजीनामाको नाटक गर्ने र आन्दोलन शान्त भएपछि अध्यक्ष पदमा फर्किन खोज्ने कदम सङ्गठनको नियम र प्रक्रियासँग मेल नखाने भन्दै कडरियाको पछिल्लो रवैया र आचरणले सङ्गठनको इज्जत र भविष्यलाई असर गरेको स्पष्ट पारिएको छ।

सङ्गठनका हस्ताक्षरकर्ताहरूले भनेका छन्, “सङ्कटको घडीमा नेतृत्वले संगठनलाई बलियो बनाउनुपर्ने भए पनि भाग्ने, मौन बस्ने र व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने प्रवृत्तिले संगठन कमजोर बनाएको छ।”

पत्रमा महाधिवेशनमार्फत प्राप्त प्रतिनिधिको मतको अपमान हुने, विद्यार्थी आन्दोलनमा बलिदान भएका शहीदहरूको योगदानलाई अवमूल्यन गर्ने र संगठनलाई सङ्कटमा पार्ने नेतृत्व अस्वीकार्य भएको पनि उल्लेख गरिएको छ।

बागमती प्रदेशका हस्ताक्षरकर्ताहरूले तत्काल बैठक बसेर संगठनलाई नयाँ, जिम्मेवार नेतृत्वको हातमा सुम्पनुपर्ने माग गरेका छन्।