काठमाडौं—नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई सरकारले गिरफ्तार गर्न खोजेको भन्दै मिडिया ट्रायल चलाइरहेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य सार्वजनिक गर्दै बस्नेतले विदेशी शक्तिका दलालहरूले दानवीय प्रवृत्ति प्रयोग गरी नेपालको राष्ट्रियता, लोकतन्त्र र समृद्धि ध्वस्त पार्ने प्रयास गरिरहेको भन्दै त्यसविरुद्ध आफू निरन्तर आवाज उठाइरहेको दाबी गरे।
उनका अनुसार यही कारणले सत्तापक्ष त्रसित बनेको छ। बस्नेतले भने, “मैले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको छु। मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि राष्ट्रियताको पक्षमै बोलिरहनेछु।”
सरकारप्रति कटाक्ष गर्दै उनले छोटो समयका लागि बनेको "जेनजी आन्दोलन" नामक सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए नेपाली युवाहरू त्यसको सामना गर्न सधैं तयार रहने उल्लेख गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम तथा सचिवालय बैठक आयोजनामा आफूले खेलेको भूमिकाले सत्ता पक्ष असहज बनेको उनको आरोप छ।
बस्नेतले आफूले पूरा गरेको दायित्वलाई कसैले ह्यारेसमेन्ट गरेर पन्छ्याउन नसक्ने चेतावनी पनि दिएका छन्।




















