काठमाडौं — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पत्तिमाथि छानबिन गर्न माग गरेका छन्।
बुधबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले मेयर बालेनका गतिविधि र सम्पत्तिसम्बन्धी विषयमा गम्भीर छानबिन हुनुपर्ने बताए।
उनले ‘हामी नेपाल’ संस्थामा आएको रकम, त्यसको स्रोत र खर्चबारे पनि स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने माग गरे।
गुरुङका शब्दमा, “भ्रष्टाचार अन्त्य गर्ने हो भने सर्वप्रथम काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पत्तिमाथि छानबिन गर्नुपर्छ। ‘हामी नेपाल’ संस्थामा कति सम्पत्ति आयो ? आम्दानी कति छ ? त्यसबारे देशले जान्न पाउँछ।”
उनले बालेनमाथि देशलाई “भड्खालोमा पुर्याउने कार्यमा संलग्न” रहेको आरोपसमेत लगाए।
यस्तै, सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउने दिशामा अघि नबढेको भन्दै उनले चेतावनी दिए “यदि सरकारले निष्पक्ष निर्वाचन गर्न चाहन्छ भने, अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन्, हामी पनि त्यहीँबाट उम्मेदवार बनाउँछौं।”




















