भक्तपुर — नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले असोज २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली चलाउने आदेश दिएको भन्ने आरोपलाई अस्वीकार गर्दै प्रमाणसहित आउन चुनौती दिएका छन्।
बिहीबार भक्तपुरमा आयोजित विशेष कार्यक्रममा बोल्दै बस्नेतले भने,“कुनै कानुनले प्रधानमन्त्रीलाई गोली चलाउन आदेश दिने अधिकार दिंदैन। यदि हाम्रो अध्यक्षले आदेश दिएको हो भने प्रमाण ल्याउनुस्, हामी छलफल गर्न तयार छौं।”
बस्नेतले सो अवसरमा विदेशी सुटरहरू ल्याएर बालबालिकाको हत्या गरिएको दाबी गर्दै त्यसबारे तत्काल छानबिन गर्न माग गरे।
उनका अनुसार, पछिल्लो समयमा जेनजी आन्दोलनका नाममा गलत आरोप र भ्रामक प्रचार भइरहेको छ। उनले भने, “ओलीलाई पक्राउ गर्न खोज्नेहरूले राजनीतिक अस्थिरता फैलाउन खोजिरहेका छन्। एमालेलाई धम्क्याएर डराउन नसकिने बताए,हाम्रो अध्यक्षलाई छोइयो भने देशभर आगो बल्नेछ।”
बस्नेतले भने
‘हिजो पञ्चायतसँग, माओवादीसँग, वाइसिएलसँग लडेका हामीलाई धम्क्याएर केही हुँदैन, एमालेलाई धम्क्याएर हल्लाउन सकिँदैन।’
बस्नेतले एमाले निकट राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते दिउँसो ३ बजे काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली गर्ने जानकारी पनि दिए।
यसक्रममा उनले जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्की आफ्नो जेठान भएको खुलासा गरे र भने, “हामी छानबिन समितिलाई आवश्यक सहयोग गर्न तयार छौं, सत्य लुकाउन खोजिँदैन।”




















