काठमाडौं — नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आन्दोलनका नाममा भएका गैरकानुनी गतिविधिहरूमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए।
डा. महतका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनकारीलाई कारबाही नगर्ने भनाइ दिएका प्रति नेताहरूले आपत्ति जनाएका छन्। उनले भने,
“तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइनुपर्छ भन्ने नेताहरूको साझा धारणा छ।”
बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा समेत छलफल भएको थियो। तर नेताहरूबीच मतभेद रहेकाले बैठक ठोस निष्कर्षमा पुग्न सकेन।
डा. महतका अनुसार, केही नेताहरूले महाधिवेशन निर्धारित समयमा गर्नुपर्ने धारणा राखे भने, केहीले मंसिरभित्रै सबै प्रक्रिया पूरा गर्न थप समय आवश्यक पर्ने सुझाव दिएका छन्।
“अहिले पार्टी र देश दुबै चुनौतीपूर्ण अवस्थामा छन्,” डा. महतले भने,
“लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्दै देशलाई कमजोर हुनबाट जोगाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो।”
कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र राष्ट्रिय राजनीतिको समग्र अवस्थाबारे औपचारिक धारणा आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक गर्ने बताइएको छ।




















