काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएकी छन्। उनले ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा नछाडिने चेतावनी दिएकी छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवालासँग छलफल गर्दै उनले ठगहरूले ऐशआरामका जीवन बिताउँदा पीडित रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर, महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं, तर ठगलाई नछाडौं।’

उनका अनुसार सहकारी ठगीमा संलग्न व्यक्तिहरूको घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता गरिनुपर्छ। ‘पीडितले सडकमा रोएर हिँड्ने, ठगचाहिँ सुकिलो मुकिलो भएर हिँड्ने — यस्तो सहन सकिँदैन,’ उनले भनिन्।

प्रधानमन्त्रीले सहकारी समस्या समाधानलाई सरकारको प्रमुख एजेन्डामध्ये एक भएको बताइन्। ‘यो सरकारको मुख्य काम चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु हो,’ उनले भनिन्, ‘हामीले नगरे कसले गर्छ ? यही सरकारले गर्छ।’

छलफलमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी र सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारी सहभागी थिए।