दाङ—नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नु राजनीतिक अपराध भएको टिप्पणी गरेका छन्।
दाङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले केही नेताहरूले विदेशी शक्तिको प्रभावमा परेर एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए।
“अहिले पार्टीभित्रै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ। यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो,”
उनले एमालेलाई बलियो बनाउन अध्यक्ष ओलीकै नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै भने,“हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाउँछौं। पार्टीभित्र विदेशी हस्तक्षेपको ठाउँ छैन।”
बस्नेतले पार्टी एकता, अनुशासन र संगठन सुदृढीकरणका लागि सबै कार्यकर्तालाई एकताको सन्देश दिन आग्रह पनि गरे।




















