काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका प्रचार विभाग प्रमुख दामोदार आर्यालले सामाजिक सञ्जालमार्फत एमाले नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्। उनले देशको वर्तमान संकटका लागि पार्टी होइन, त्यसको नेतृत्व वर्ग जिम्मेवार रहेको दाबी गरेका छन्।

आर्यालले लेखेका छन्, “हामी सबैलाई थाहा छ, मुलुकको समस्या एमाले होइन। मूलरुपमा एमाले त एक देशभक्त पार्टी हो। बेइमान त यसको नेतृत्व मण्डली हो।”

उनका अनुसार एमाले नेतृत्वको आलोचना हुँदै जाँदा केही कार्यकर्ताले विषय मोड्ने गरेको र आलोचनालाई व्यक्तिगत बनाउने प्रवृत्ति देखिएको छ।

उनी थप्छन्, “तिम्रा नेताका कारण देश बर्बाद भएको छ। मान्छे मरेका छन्, सिंहदरबार जलेको छ, अनि आलोचना कस्को गर्ने ?”

आर्यालले नेतृत्व सार्वजनिक अडिट र आलोचनाबाट नडराउनुपर्ने उल्लेख गर्दै इतिहासमा मदन भण्डारीले समेत जन-आलोचनाको आह्वान गरेको स्मरण गराएका छन्।

उनका अनुसार जबज (जनता बहुदलीय जनवाद) को मूल भावना व्यक्ति वा पार्टीभित्र मात्र सीमित नभई समाजकै मार्गदर्शक सिद्धान्तका रूपमा रहिरहने छ।

आर्यालले “मदन भण्डारीका विचार बोकेका मानिसहरू एमाले बाहिर पनि छन्” भन्दै नेतृत्वमाथिको असन्तुष्टि प्रष्ट पारेका छन्।

समाजवादी नेता आर्यालको यो टिप्पणी वर्तमान राजनीतिक तरलता र बाम राजनीति भित्रको चलिरहेको बहससँग जोडेर हेरिएको छ।