कैलाली प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाबाट अलग भएका नेताकार्यकर्ता पुनः नेकपा एमालेमा फर्किन थालेका छन्। साबिक नेकपा एकीकृत समाजवादी निकट खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष बहादुर खड्काको नेतृत्वमा दर्जनौँ युवा आइतबार एमाले प्रवेश गरेका छन्।

एमालेका उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले खड्कासहित पार्टी प्रवेश गर्ने युवाहरूलाई स्वागत गर्नुभयो। सो अवसरमा बोल्दै उपमहासचिव भट्टले युवाहरूको सहभागिताले एमालेको जनआधार अझ फराकिलो बनेको र सुदूरपश्चिमको समग्र विकास यात्रामा नयाँ ऊर्जा थपिएको बताउनुभयो।

पार्टी प्रवेशपछि बोल्दै युवा नेता खड्काले देशमा युवाको वास्तविक प्रतिनिधित्व गर्ने, राष्ट्रिय हित र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको पार्टी एमाले मात्र रहेको निष्कर्षमा पुगेपछि आफूहरू एमालेमा फर्किएको बताउनुभयो।

उहाँले सुदूरपश्चिमको विकास र समृद्धिका लागि सतिसालझैँ अडिग भएर उभिएका नेता लेखराज भट्टको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै, आसन्न निर्वाचनमा भट्टको विजय सुनिश्चित गर्न आफूहरू एमालेमा समाहित भएको स्पष्ट पार्नुभयो।

युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा सबल तथा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित खड्काको पार्टी प्रवेशलाई एमालेले आसन्न निर्वाचनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।