काठमाडौं — तिब्बती निर्वासित सरकारका प्रमुख (सिक्योङ) पेम्पा छेरिङ ले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन्।
केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन्।
सन्देशमा सिक्योङ छेरिङले हालै सम्पन्न जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको उदयलाई नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा चित्रण गरेका छन्।
उनले लेखेका छन्, “नेपाल र तिब्बतबीच पुस्तौँदेखि गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध कायम रहँदै आएको छ।”
तिब्बतमा भएको जबरजस्ती अधिग्रहणपछि नेपालमा शरण लिएर बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनले नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा उनले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। साथै, दुई पक्षबीचको ऐतिहासिक मित्रता अझ सुदृढ हुने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।
हाल पेम्पा छेरिङ चीनमा प्रतिबन्धित छन् र भारतको धर्मशाला मा बसोबास गर्दै आएका छन्। “सिक्योङ” पद तिब्बती निर्वासित सरकारको कार्यकारी प्रमुखलाई जनाउने पद हो। छेरिङ यसअघि लामो समय तिब्बती संसद सदस्य तथा सभामुखको जिम्मेवारीमा पनि रहिसकेका छन्।
निर्वासित तिब्बती सरकारले नेपालका नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिएको सम्भवतः पहिलो पटक हो। यसअघि दलाई लामा ले अन्तरिम सरकार प्रमुख सुशीला कार्की लाई बधाई सन्देश पठाएका थिए।




















