काठमाडौं—गायक शिव परियार ले सरकारद्वारा गठित जेन्जी आन्दोलन छानबिनका लागि बनाइएको गौरीबहादुर कार्की आयोग ले आफूविरुद्ध अन्याय गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आयोगको प्रतिवेदन पुनर्मूल्यांकन गर्न सरकारसँग आग्रह गरेका छन्।
सोमबार सार्वजनिक गरेको विस्तृत धारणा अनुसार आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’का रूपमा उल्लेख गरिएकोप्रति उनले आपत्ति जनाएका छन्। उक्त आरोप वास्तविकतामा आधारित नरहेको उनको दाबी छ।
परियारका अनुसार विसं २०८२ भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने सूचनाको सत्यता बुझ्न उनले जिज्ञासामूलक पोस्ट मात्र गरेका थिए।
“के यो सत्य हो?” भन्ने प्रश्नसहित गरिएको उक्त पोस्ट पुष्टि वा भ्रामक सूचना फैलाउने उद्देश्यले नभई नागरिकको रूपमा सत्य तथ्य बुझ्ने प्रयास मात्र रहेको उनले स्पष्ट पारेका छन्। पछि प्राप्त प्रतिक्रियाबाट उक्त सूचना गलत रहेको थाहा पाएपछि उनले पोस्ट हटाएको पनि बताएका छन्।
तर त्यसपछिका दिनमा केही सामाजिक सञ्जाल पेज तथा अनलाइन सञ्चारमाध्यमले आफ्नो अभिव्यक्तिलाई बङ्याएर ‘भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरेको उनको गुनासो छ। सोही आधारमा आयोगको प्रतिवेदनमा समेत आफ्नो नाम समावेश गरिएको भन्दै उनले यसले आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारको छविमा गम्भीर असर परेको बताएका छन्।
उनले वर्तमान सरकारसँग उक्त विषयमा पुनर्विचार गरी आफू माथि भएको अन्याय सच्याउन माग गरेका छन्। साथै, आवश्यक परे सम्पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै सबैलाई भ्रामक सूचनाप्रति सजग रहन आग्रह गरेका छन्।





















