काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण देशभर आंशिकदेखि सामान्य बदली भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हाल हल्का वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा अन्य तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीबतास चल्ने सम्भावना समेत रहेको छ।
आज राति भने हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र र कोशी तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतास चल्न सक्ने अनुमान गरिएको छ।




















