पोखरा — गृहमन्त्री सुधन गुरुङको भनेर सञ्चारमाध्यममा सार्वजनिक २० रोपनी जग्गा भाडामा लिएको पाइएको छ । गुरुङले स्थानीय ओमबहादुर गुरुङसँग वार्षिक २ लाख रुपैयाँ तिर्ने सहमतिमा करिब २० रोपनी जग्गा भाडामा लिएका थिए।
सो जग्गामा उनले रिसोर्ट तथा पर्यटकीय संरचना निर्माण सुरु गरेका थिए। तर निर्माणकै क्रममा स्थानीयसँग विवाद उत्पन्न भएपछि उनले काम अधुरै छोडेर बाहिरिएका थिए ।
जग्गाधनी ओमबहादुर गुरुङका अनुसार सम्झौता भएको ५–६ वर्ष भइसक्दा पनि गृहमन्त्रीले एक वर्षको मात्रै भाडा तिरेका छन्। “एक वर्षको २ लाख पाएँ, त्यसपछि भाडा पाएको छैन। धेरै पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउनुभएको छैन,” उनले बताए।
यसैबीच पोखराका मेयर धनराज आचार्यले ताल किनार क्षेत्रको व्यवस्थापनका क्रममा उक्त जग्गामा समेत डोजर लगाउने विषय उठेको जानकारी दिएका छन्। उनका अनुसार नक्सा देखाउने क्रममा गृहमन्त्रीले आफ्नो जग्गामा पनि अवरोध नगर्ने बताएका थिए।
हाल गृहमन्त्री गुरुङ यस विषयमा सम्पर्कमा आएका छैनन्। जग्गाधनीले भने बाँकी भाडा तिर्न आग्रह गर्दै या त सम्झौता कार्यान्वयन गर्न, नभए सम्झौता रद्द गर्न आग्रह गरेका छन्।
उक्त जग्गा १५ वर्षका लागि भाडामा लिएको बताइएको छ। तर जग्गाको नापी दर्ता र कानुनी अवस्था अझै स्पष्ट नभएको, केही भाग दर्ता र केही हकभोगका आधारमा रहेको हुन सक्ने बताइएको छ।




















