विराटनगर — ठगी मुद्दामा एमाले कार्यकर्ता तथा तत्कालीन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल का पूर्वस्वकीय सचिव अनिल पोखरेल दोषी ठहर भएका छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झा को इजलासले बिहीबार पोखरेललाई ठगी मुद्दामा कसुरदार ठहर गरेको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अब एक महिनाभित्र सजाय निर्धारणसम्बन्धी अर्को फैसला हुनेछ।

एमाले मोरङका सदस्यसमेत रहेका रंगेली–२ का पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनले २०८१ पुस २६ गते मोरङ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले माघ ९ गते उनीविरुद्ध ७ वर्ष कैद र ३८ लाख ८० हजार रुपैयाँ बिगो मागदाबीसहित अभियोग दर्ता गरेको थियो।

अदालतका अनुसार पोखरेलले ‘पार्टी कोटा’मा एमबीबीएसमा नाम निकालिदिने प्रलोभन देखाएर सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको पुष्टि भएको छ। चौधरीकी छोरीलाई मेडिकलमा भर्ना गराइदिने भन्दै उनले २०७१ देखि २०७३ सालसम्म पटक–पटक रकम उठाएका थिए।

प्रवेश परीक्षामा नाम ननिस्किएपछि रकम फिर्ता माग्दा पोखरेलले उल्टै ५० लाख रुपैयाँको कपाली तमसुक बनाएको पीडित पक्षको आरोप छ।

पीडितले न्यायका लागि वर्षौँ संघर्ष गर्नुपरेको थियो। राजनीतिक दबाबका कारण प्रहरीले सुरूमा जाहेरी दर्ता नगरेको दाबी गरिएको छ। पछि उच्च अदालत विराटनगरको आदेशपछि मात्रै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

- लोकान्तर