काठमाडौँ—श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले लिपुलेक, कालापानी र लिम्पियाधुरामा तत्काल सेना परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।
लामो समयदेखि सीमा सुरक्षाको मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएका सांसद साम्पाङले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सार्वजनिक प्रश्न गर्दै यस्तो माग गरेका हुन्।
सांसद साम्पाङले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्, "लिपुलेकमा सेना पठाउनुभयो प्रधानमन्त्रीज्यू ?'
सांसद साम्पाङले आफ्नो राजनीतिक यात्राको सुरुवातदेखि नै सीमा क्षेत्रमा सैन्य पोस्ट स्थापना गर्नुपर्ने र नागरिकस्तरबाटै भए पनि भूमि रक्षाका लागि पुग्नुपर्ने अडान राख्दै आएका छन्।
उनले सरकारले कूटनीतिक नोट मात्रै पठाएर बसेको र भूमि फिर्ता ल्याउन ठोस कदम नचालेको भन्दै प्रधानमन्त्री शाहको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।




















