काठमाडौँ—हाल नेपालको मौसममा विभिन्न प्रणालीहरूको मिश्रित प्रभाव देखिएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पश्चिमदेखि पूर्वसम्म नेपाल नजिकै सक्रिय रहेको न्यून चापीय रेखाका कारण देशभर मौसममा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली छ। हाल लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसोको मौसम

आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश र बाँकी तराई भूभागमा भने आंशिक बदली रहनेछ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

रातिको मौसम

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बदली रहनेछ। पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। यसैगरी लुम्बिनीको तराई तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।

चट्याङ्ग, वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।