काठमाडौं—टिकटकर तुलसा अधिकारी अर्थात् तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले का अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो । हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रहरीका अनुसार ‘हनी ट्र्याप’ शैलीमा आपराधिक लाभ लिएको तथा ठगी गरेको आरोपमा परिवर्तित नाम ‘शंकर चिमोरिया’ले दिएको जाहेरीका आधारमा उनीविरुद्ध आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइएको हो ।
सामाजिक सञ्जालमा सक्रिय रहेकी तुलसा अधिकारी फरार भएपछि उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




















