काठमाडौं— गणेश कार्की ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइँदै आएको विवादास्पद तस्वीरबारे अब कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य कार्कीले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै आफूविरुद्ध योजनाबद्ध रूपमा चरित्रहत्या गर्ने प्रयास भइरहेको बताएका हुन् ।

कार्कीका अनुसार निर्वाचनअघि देखि नै एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाइँदै आएको छ, जसमा ‘देखिस् ओली, सिंहदरबार जलाएरै छाड्यौँ’ लेखिएको पोस्टर बोकेको व्यक्ति आफू भएको दाबी गरिएको छ । तर उनले उक्त तस्वीर नक्कली तथा सम्पादित (एडिट गरिएको) भएको दाबी गरेका छन् ।

उनले चुनावका बेला राजनीतिक पूर्वाग्रहका कारण आफ्नो चरित्रमाथि आक्रमण गर्न उक्त तस्वीर प्रयोग गरिएको आरोप लगाएका छन् । त्यसबेला उजुरी नगरेको स्वीकार गर्दै उनले धेरै मानिस साइबर अपराधबारे जानकार नहुने र उजुरी दिएपछि अनावश्यक दुःख पर्न सक्ने ठानेर मौन बसेको बताएका छन् ।

‘चुनाव अगाडिदेखिनै मेरा विरुद्धमा प्रयोग भइरहेको यो फोटो मैले देखिरहेकै फोटो हो । चुनावका बेला मान्छेलाई राजनीति लाग्यो भनेर तथा यस्तो अपराधका बारेमा मान्छे जानकार पनि नहुने अनि उजुरी दिँदा व्यक्तिले निकै दुःख पाउने भएकाले मैले उजुरबाजुर गरिनँ,’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले आफू मदिरा तथा चुरोट सेवन नगर्ने व्यक्ति भएको उल्लेख गर्दै केही व्यक्तिले साथीभाइको संगतका आधारमा गलत प्रचार गर्ने गरेको गुनासो समेत गरेका छन् । आफूले कसैले के भन्ला भनेर नभई स्वास्थ्यका कारण त्यस्ता वस्तु सेवन नगरेको उनको भनाइ छ ।

कार्कीले भाइरल तस्वीर नक्कली भएको विषय विभिन्न तथ्य परीक्षण संस्थाले समेत पुष्टि गरिसकेको दाबी गरेका छन् । नेपाल फ्याक्ट चेक, अनलाइनखबर र टेकपानालगायत संस्थाले उक्त तस्वीरको सत्यतथ्य परीक्षण गरी नक्कली भएको निष्कर्ष सार्वजनिक गरिसकेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्नो नाम जोडेर विभिन्न कोणबाट छानबिन गर्नुपर्ने सुझाव पुगेको प्रसंग उल्लेख गर्दै उनले अनुसन्धानबाट सत्य बाहिर आउने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा अझै पनि उक्त तस्वीर शेयर गर्ने तथा फैलाउने व्यक्तिप्रति लक्षित गर्दै कार्कीले अब भने कानुनी कारबाहीको बाटो अपनाउने चेतावनी दिएका छन् ।

‘जसले अब पनि यो फोटो फैलाउँदै छन्, उनीहरूलाई यो फोटो नक्कली हो भन्ने थाहा नभएको हुन सक्ने सम्भावना पनि लगभग छैन,’ उनले लेखेका छन् ।

नक्कली सामग्री हटाउन आग्रह गर्दै उनले अब साइबर ब्युरोमा उजुरी दिने तयारीमा रहेको बताएका छन् । ‘नहटाउनेहरूलाई अब भने साइबर ब्युरोमा उजुरी दिनेछु,’ उनले उल्लेख गरेका छन् ।

कार्कीले कानुनी प्रक्रियाका कारण कसैलाई समस्या परे आफूलाई त्यसबाट खुसी नलाग्ने समेत बताएका छन् । अन्तिम विकल्पका रूपमा मात्र उजुरी दिन बाध्य भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘तपाईँले यही कारणले दुःख पाउँदा मलाई खुसी लाग्ने छैन । तपाईँले पाउने दुःखका लागि म माफी चाहन्छु, तर अर्को उपाय मसँग बाँकी रहेन ।’