दमक — झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । घटना भएको करिब १० दिनपछि प्रहरीले मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका करिब ३० वर्षीय भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको काम गर्दै आएका थिए । प्रहरी स्रोतका अनुसार मृतक रमा तिवारी र आरोपितबीच घटनाअघि चिनजान रहेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट आरोपितले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा तिवारीसँग दुई पटक शारीरिक सम्पर्क राखेको र त्यसबापत प्रत्येक पटक एक हजार रुपैयाँ दिएको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि रकमको विषयलाई लिएर दुवैबीच विवाद भएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार विवाद चर्किएपछि आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेका थिए । हत्या पश्चात घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि फालिएको खुलेको छ । घटनामा प्रयोग गरिएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको जनाएको छ ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो । शवको पहिचान भएपछि प्रहरीले मोबाइल विवरण, प्राविधिक विश्लेषण र स्थानीय सूचनाका आधारमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम भने हालसम्म गोप्य राखिएको छ ।