काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गर्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ‘कमजोर’ देखिएका तीन मन्त्रीलाई पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री शाह जुटेका हुन् ।
स्रोतका अनुसार, हाल बालेन नेतृत्वको १४ सदस्यीय क्याबिनेटमा रहेका स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर नयाँ अनुहार भित्र्याउने प्रधानमन्त्रीको योजना छ । मेहता र चौधरी गत चैत १३ गते मन्त्री बनेका थिए भने यादवले चैत २७ गते जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रधानमन्त्रीले सरकारको ‘सय बुँदे कार्यसूची’लाई मुख्य आधार मानेर मन्त्रीहरूको रिपोर्ट कार्ड तयार पारिरहेका छन् । सोही मूल्यांकनमा यी तीन मन्त्रीको काम सन्तोषजनक नभएको प्रधानमन्त्रीको निष्कर्ष छ । आर्थिक वर्षको बजेट संसद्बाट पारित भएलगत्तै मन्त्रीहरू हेरफेर गरिने बालुवाटार स्रोतले जनाएको छ ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ वटै मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्ट, लगानी बोर्ड, सतर्कता केन्द्र, सार्वजनिक खरिद तथा अनुगमन कार्यालय र तथ्यांक विभागलगायतका निकायको कामकारबाहीको सूक्ष्म अनुगमन तथा मूल्यांकन गरिरहेको छ ।



















