विराटचोक—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी निवर्तमान कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन) ले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।

मोरङको विराटचोकमा सम्पन्न रास्वपा कोशी प्रदेशको पहिलो ऐतिहासिक प्रादेशिक अधिवेशनमा सभापति पदमा पराजित भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत राजनीतिक यात्रा अन्त्य गरेको घोषणा गरेकी हुन्। अधिवेशनबाट नयाँ सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्।

केन्द्रले अधिवेशनमा कुनै पनि प्रकारको प्यानल वा गुटबन्दी बनाउन निषेध गरे तापनि निर्वाचनका क्रममा जनप्रतिनिधि र केही केन्द्रीय नेताहरूकै सक्रियतामा आन्तरिक सेटिङ र प्यानल बनेको भन्दै तामाङले असन्तुष्टि व्यक्त गरेकी छन्।

पराजिपछि सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै उनले भनेकी छन्, “आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू, धन्यवाद तपाईं चौधौँज्यूहरूलाई।”

उनले अगाडि लेखेकी छन्, “सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ मैले, यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशीलाई भनेर। तर, यो मेरो सोझो सिधापन आज दुखाइ भयो सबैलाई। हजुरको राजनीति गर्नै जानिनँ, कमजोरी भयो मेरो।”

नेतृ तामाङ गत फागुन २१ गते भएको उपनिर्वाचन (वा पूर्व निर्वाचन) मा सुनसरी क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवार समेत थिइन्। पार्टी स्थापनाकालदेखि नै कोशी प्रदेशमा संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी र राहत तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएकी तामाङको यो अप्रत्याशित घोषणाले रास्वपाभित्रको आन्तरिक लोकतन्त्र र बढ्दो गुटबन्दीको बहसलाई पुनः सतहमा ल्याइदिएको छ।