काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै वैदेशिक रोजगारीमा गएका झण्डै १३ सय नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा मात्रै १ हजार २ सय ९४ जना नेपाली कामदारको मृत्यु भएको हो ।
बोर्डको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै १ सय ५३ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यो तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षा र कार्यवातावरण झनै जोखिमपूर्ण बन्दै गएको देखाउँछ ।
बोर्डको विवरणअनुसार पछिल्लो करिब ११ वर्ष (१० वर्ष १० महिना) को अवधिमा वैदेशिक रोजगारीका सिलसिलामा ११ हजार ९ सय ८८ जना नेपालीको मृत्यु भइसकेको छ ।
यस्तो छ पछिल्लो १० वर्षको मृत्युको कहालीलाग्दो चित्र :
तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ८ सय १६ जनाले ज्यान गुमाएका थिए भने २०७३/७४ मा ७ सय ५६ जनाको मृत्यु भएको थियो । यसैगरी, २०७४/७५ मा ८ सय २१, २०७५/७६ मा ७ सय ५४ र २०७६/७७ मा ६ सय ६१ जना नेपालीले रोजगारीका क्रममा ज्यान गुमाए ।
पछिल्ला वर्षहरूमा भने मृत्यु हुनेको संख्या झनै उकालो लागेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जना, २०७८/७९ मा १ हजार ३ सय ९५ जना र २०७९/८० मा १ हजार २ सय ८ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।
त्यस्तै, २०८०/८१ मा १ हजार ४ सय ५८ जना र २०८१/८२ मा १ हजार ५ सय ८३ जना नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षको पहिलो १० महिनामै मृत्यु हुनेको संख्या १ हजार २ सय ९४ पुगिसकेको छ ।



















