काठमाडौं—नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रविधिको दुरुपयोग गरी जनतामा भ्रम छरेर चुनाव जितेको आरोप लगाएका छन्। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले रास्वपालाई ‘पपुलिस्ट पार्टी’ को संज्ञा दिएका हुन्।

रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासनको लोकप्रिय नारा दिएर जनतालाई दिग्भ्रमित पारेको उनको जिकिर छ।

"रास्वपा एउटा पपुलिस्ट पार्टी हो। उसले पपुलर नाराबाट, एआई र अल्गोरिदमको माध्यमबाट जनतालाई भ्रमित बनायो," बैठकलाई सम्बोधन गर्दै थापाले भने, "क्रान्तिकारीहरूलाई, गणतन्त्र र लोकतन्त्रका संवाहकहरूलाई खलनायक र हत्याराको रूपमा पूरै स्थापित गर्‍यो भने जनताका लागि केही नगरेकाहरूलाई नायक बनाइदियो।"

उपाध्यक्ष थापाले पुराना दलहरूको कमजोरीमा टेकेर रास्वपाले पाएको सफलता लामो समय नटिक्ने दाबी गरे। उनले भने, "अहिले अस्थायी रूपमा उनीहरू सफल भए। हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भए पनि यो सफलता अस्थायी हो। यो सफलतालाई साँच्चै अस्थायी बनाउन हामीले पार्टीलाई नयाँ नीतिका आधारमा पुनर्गठित गर्नुपर्छ।"

सम्बोधनका क्रममा थापाले वर्तमान सरकार र रास्वपाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोखे। रास्वपा सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिँडिरहेको आरोप लगाउँदै उनले थपे, "जनताको संगठित हुने मौलिक अधिकारहरू उसले खोज्दै छ। सुकुम्वासीहरूमाथि दमन गर्दैछ, हामीले त्यो देख्यौँ। लोकतान्त्रिक संस्थाहरू र गणतन्त्रकै धज्जी उडाउने काम भइरहेको छ। यसको अर्थ उनीहरू गणतन्त्रलाई नै समाप्त पार्न चाहन्छन्।"

उपाध्यक्ष थापाले पछिल्लो समय उब्जिएको भू–राजनीतिक विषयमा पनि कडा टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले आफ्नो सत्ता टिकाउनकै लागि ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने विवादित अभिव्यक्ति दिएको उनको भनाइ छ।

यसैगरी, रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर पनि उनले गम्भीर आशङ्का व्यक्त गरे। लामिछानेले भारतमा पाएको ‘रेड कार्पेट’ स्वागतको राजनीतिक अर्थ खोज्दै थापाले भने, "एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ भव्य स्वागत गरिएको छ। यसको राजनीतिक अर्थ के हो ? उनीहरू (भारत) अहिलेको विद्यमान नेतृत्वसित सन्तुष्ट छैनन् र अरू कसैलाई नेतृत्वमा स्थापित गर्न मद्दत गर्न चाहन्छन् भन्ने यसले प्रस्ट पार्छ।"