काठमाडौं—जेठ `२७ गते संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिक्षा बास्कोटाले नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेको सम्बोधनप्रति नियमापत्ति जनाउँदै कांग्रेसले '३५ वर्ष देश लुटेको, बेथिति र कुशासन फैलाएको' आरोप लगाइन्। उनको यो अभिव्यक्तिलगत्तै अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा एउटा नयाँ बहस सुरु भएको छ— के समिक्षाले यो प्रश्न उठाउँदा आफ्नो पारिवारिक राजनीतिक विरासतलाई बिर्सिएकी हुन्?
इतिहास पल्टाएर हेर्ने हो भने, सांसद बास्कोटाले कांग्रेसतर्फ तेर्स्याएको औंला आफैंतिर फर्किएको विश्लेषकहरू बताउँछन्। अहिले उठिरहेका मुख्य तर्कहरू यस्ता छन्:
राजनीतिक सुरुवातको अन्तर: समिक्षाका बुबा दिपक प्रकाश बास्कोटा नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय रहे। शेरबहादुर देउवाको जम्बो मन्त्रिपरिषद्मा उनी मन्त्री बन्दै गर्दा, भिष्मराज आङदेम्बेले राजनीतिक यात्रा नै राम्ररी सुरु गरेका थिएनन्।
चुनावी यात्रा र अवसर: दिपक प्रकाश बास्कोटाले कांग्रेसबाट टिकट लिएर पाँचथरबाट चुनाव जित्दै गर्दा, आङदेम्बेले पालिकाको वडा स्तरको टिकट समेत पाएका थिएनन्।
पार्टीभित्रको हैसियत: समिक्षाका बुबा कांग्रेसको केन्द्रीय सदस्य भइसक्दा, आङदेम्बे जिल्ला सदस्य समेत बनेका थिएनन्।
राजनीतिमा नयाँ पुस्ताको आगमन र प्रश्न उठाउने शैलीलाई स्वागत गरिए पनि, पुराना दल र नेताहरूलाई '३५ वर्ष देश लुटेको' आरोप लगाउँदै गर्दा ती ३५ वर्षमा सत्ता र शक्तिको अभ्यास गर्ने आफ्नै पुस्ता र परिवारको इतिहासलाई भने नजरअन्दाज गर्न नमिल्ने टिप्पणी भइरहेको छ।




















