काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीन आचार्यले पार्टीभित्र पदलोलुपता र हतारो बढ्दै गएको टिप्पणी गर्दै कार्यकर्ताहरूलाई धैर्य गर्न आग्रह गरेका छन्।
शनिबार रास्वपाको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो भनाइ राखेका हुन्। सहमहामन्त्री आचार्यले पुराना राजनीतिक दलका नेताहरूको सङ्घर्षको उदाहरण दिँदै भने, "हाम्रो पार्टीमा पदलोलुपता बढेको छ। पदका लागि हतार गर्नु हुँदैन। पुराना पार्टीका धेरै नेताहरूले ३०–३५ वर्षसम्म कुरेर बल्ल टिकट पाएका छन्। हामीले पनि धैर्य गर्न सिक्नुपर्छ।" उनले नेतृत्वको आकाङ्क्षासँगै सङ्गठनप्रतिको प्रतिबद्धता र धैर्यता पनि उत्तिकै आवश्यक रहेको कुरामा जोड दिए।
लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। प्रदेश सभापति पदका लागि मात्रै ६ जना आकांक्षीहरू मैदानमा उत्रिएका छन्। रुपन्देहीका शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मञ्जु भुसाल र मधु अर्यालका साथै अर्घाखाँचीका गोपाल घिमिरेले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, जम्मा ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि एक सयभन्दा बढी उम्मेदवारी परेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको र उम्मेदवारीको यो उच्च सङ्ख्याले पार्टीभित्र नेतृत्वमा पुग्ने चासो र प्रतिस्पर्धा तीव्र बन्दै गएको स्पष्ट पारेको छ।




















