विराटनगर—भारतमा फरार प्रतिवादी रहेका २४ वर्षीय प्रिन्स यादव विराटनगरको एक होटलमा मृत फेला परेका छन्। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
भारतीय प्रहरीको खोजी सूचीमा थिए यादव मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार भारत बिहार राज्यको सहरसा निवासी यादव भारतमा भएको एउटा घटनाका फरार प्रतिवादी रहेको पाइएको छ। उनी भारतीय प्रहरीको खोजी सूचीमा समेत रहेका थिए।
प्रिन्स यादव बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनी पटना केन्द्रित ‘खान सर’सँग जोडिएको विवाद तथा खान ग्लोबल स्टडीजमा भएको आक्रमण र तोडफोड प्रकरणमा मुछिएका थिए र उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो। यद्यपि उक्त मुद्दाबारे भारतीय अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन्। प्रहरी स्रोतका अनुसार यादव केही दिनअघि मात्र नेपाल प्रवेश गरेका थिए।
अचानक बिरामी र मृत्यु यादव विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा बस्दै आएका थिए। होटलमा बसेकै अवस्थामा शनिबार राति करिब ११ बजेतिर उनी अचानक बिरामी परेका थिए। तत्काल उद्धार गरी उपचारका लागि न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको मृत्युपछि घटनाले नेपाल–भारत दुवैतर्फ चासो बढाएको छ।
४ जना पक्राउ र अनुसन्धान घटनापछि प्रहरीले मृतकसँगै होटलमा रहेका भारत बिहारका सहरसा निवासी २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएको छ।
मृतकको कन्चटमा सानो चोट देखिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने डीएसपी श्रेष्ठले बताए। प्रारम्भिक अनुसन्धानमा आत्महत्या, प्राकृतिक मृत्यु, लागुऔषधको अत्यधिक सेवन वा अन्य कुनै आपराधिक गतिविधिसँग सम्बन्धित घटना हुन सक्ने विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे परिवारलाई जानकारी गराइसकिएको छ।




















