काठमाडौं —प्रतिनिधिसभामा ‘छाडातन्त्र’ शब्दलाई लिएर नियमापत्ति जनाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर यतिबेला आलोचनाको केन्द्रमा परेकी छन्।

नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सरकारको कार्यशैलीको आलोचना गर्दै ‘सरकारमा छाडातन्त्र छ’ भन्ने अभिव्यक्ति दिएपछि राना मगरले उक्त शब्द अश्लील भएको दाबी गर्दै संसद्को अभिलेखबाट हटाउन माग गरेकी थिइन्।

तर, त्यसपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। आलोचकहरूले केही दिनअघि उनकै पार्टीका  प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जमिन मिचेको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति राना मगरले कुनै नियमापत्ति नजनाएको विषयलाई उठाएका छन्।

उनीहरूले आफ्नै दल नेतृत्वको सरकारका प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मौन रहने तर प्रतिपक्षी सांसदले सरकारको आलोचना गर्दा प्रयोग गरेको ‘छाडातन्त्र’ शब्दमा कडा आपत्ति जनाउनु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका छन्।

यस घटनापछि संसदीय मर्यादा र नियमको प्रयोग सबैका लागि समान रूपमा भइरहेको छ कि छैन भन्ने बहस चर्किएको छ। सामाजिक सञ्जालमा समेत राना मगरप्रति प्रश्न उठाउँदै धेरैले ‘देश र राष्ट्रिय हितसँग जोडिएका विषयमा मौन बस्ने, तर राजनीतिक कटाक्षमा आपत्ति जनाउने किन?’ भन्ने जिज्ञासा व्यक्त गरेका छन्।

यो विवादले संसद्भित्रको बहसभन्दा बाहिर राजनीतिक निष्पक्षता, संसदीय आचरण र दोहोरो मापदण्डबारे नयाँ बहस सुरु गराएको छ।