काठमाडौँ — कानुन निर्माण गर्ने सर्वोच्च थलो प्रतिनिधिसभामा पुगेका सांसद हर्क साम्पाङ आफैँले भने सवारी कानुनको गम्भीर उल्लंघन गरेको तथ्य बाहिरिएको छ। विगत एक दशकदेखि आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण नगरेका साम्पाङको लाइसेन्स कानुनी रूपमा स्वतः खारेज भइसकेको पाइएको हो।
यातायात व्यवस्था कार्यालय, इटहरीको तथ्यांक अनुसार धरानका पूर्व मेयर समेत रहेका साम्पाङले २०७१ साल पुस ६ गतेयता आफ्नो मोटरसाइकल (श्रेणी 'ए') को लाइसेन्स नवीकरण गराएका छैनन्। प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले गरेको प्रारम्भिक छानबिनमा सन् २००६ मा निकालिएको उक्त लाइसेन्सको म्याद २०१६ (२०७३ पुस १२) मै सकिएको र त्यसयता नवीकरणको कुनै प्रक्रिया अघि नबढेको देखिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले म्याद नाघेको ५ वर्षभित्र पनि जरिवाना तिरेर लाइसेन्स नवीकरण नगरेमा त्यस्तो अनुमति पत्र स्वतः रद्द हुने स्पष्ट व्यवस्था गरेको छ। सोही कानुनी प्रावधान अनुसार सांसद साम्पाङको लाइसेन्सको कानुनी हैसियत समाप्त भइसकेको छ।
लाइसेन्स खारेज भए पनि सडकमै मस्ती लाइसेन्स खारेज भइसकेको र नवीकरण पनि नभएको अवस्थामा साम्पाङले भने निर्बाध रूपमा सवारीसाधन चलाउँदै आएका छन्। यसै क्रममा केही समय अघि मात्र उनी ट्राफिक कारबाहीमा समेत परेका थिए।
गत जेठ २९ गते उदयपुरको मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल चलाउने क्रममा उनले लापरबाही गरेका थिए। एउटा हातले ह्यान्डल समातेर अर्को हातले भ्लग (भिडियो) खिच्दै गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएको थियो। सर्वसाधारणको दबाबपछि इटहरीस्थित ट्राफिक व्यवस्थापन कार्यालयले उनलाई जरिवाना तिराएर चिट काटेको थियो, जसको जानकारी जेठ २५ मा प्रहरी प्रधान कार्यालयले नै सार्वजनिक गरेको थियो।
सुनसरी–१ बाट प्रतिनिधिसभामा निर्वाचित श्रम संस्कृति पार्टीका संस्थापक साम्पाङले बिना लाइसेन्स सवारी चलाएको विषयले यतिबेला नैतिकता र विधिको शासनमाथि प्रश्न खडा गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार, खारेज भइसकेको लाइसेन्स बोकेर सवारी चलाएको विषयमा उनीमाथि थप कानुनी परामर्श र अनुसन्धान अगाडि बढाइएको छ।




















