काठमाडौं—सरकारकै एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सबै जिम्मेवारी प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेको भन्दै प्रतिनिधिसभामै गुनासो गरेका हुन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पुनले आईटी र एआई जस्ता महत्वपूर्ण क्षेत्रको काम एकल रूपमा नभई सबै सरोकारवालाको सहकार्यमा अघि बढाउनुपर्ने बताए। उनले यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेका जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा सारिएको उल्लेख गर्दै यस्तो कार्यशैलीले समन्वयमा चुनौती सिर्जना गर्न सक्ने संकेत गरे।

“प्रधानमन्त्रीले आईटी र एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो, अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ। यो काम एक जनाले मात्र गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो,” मन्त्री पुनले संसदमा भने।

यद्यपि, सरकारको मुख्य उद्देश्य एआई र आईटीको अधिकतम प्रयोगमार्फत विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको उनले स्पष्ट पारे। उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिए।

मन्त्री पुनले आफू नेतृत्वमा रहेको मन्त्रालयको इतिहास स्मरण गर्दै २०५३ सालमै यो मन्त्रालय स्थापना भए पनि विभिन्न समयमा अन्य मन्त्रालयसँग गाभिने र छुट्टिने क्रम चलेको बताए। विगतमा मन्त्रालयलाई राजनीतिक भागबन्डाको माध्यम बनाइएकाले अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ थियो।

उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई देशको विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न स्पष्ट नीति, सक्षम जनशक्ति र पर्याप्त स्रोत आवश्यक रहेको बताए। मन्त्री पुनको अभिव्यक्तिलाई सरकारभित्र आईटी तथा एआई क्षेत्रको अधिकार र जिम्मेवारी व्यवस्थापनबारे देखिएको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।