काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र पारेको छ। आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुने महाधिवेशनको संघारमा पार्टी सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थ र सङ्कीर्ण सोच त्यागेर 'म' बाट 'हामी' मा रूपान्तरण हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

सहमतिमै नेतृत्व चयन र विधानमा 'वरिष्ठ नेता' पद महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने महाधिवेशन प्रतिनिधिको शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।

भर्खरै मात्र विवेकशील साझा, हाम्रो नेपाली पार्टी, थरुवान आन्दोलन लगायतका विभिन्न समूहबाट पार्टीमा समायोजन भएका नेताहरूलाई तत्कालै चुनावमा प्रतिस्पर्धा गराउनु अन्यायपूर्ण हुने भन्दै सभापति लामिछानेले महाधिवेशन सहमतिकै आधारमा सम्पन्न गर्नुपर्ने इच्छा व्यक्त गरेका छन्। लेबी नबुझाउने प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी नगराउने निर्णय पनि सचिवालय बैठकले गरेको छ।

यसैगरी, रास्वपाले चुनावअघि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको 'वरिष्ठ नेता' पदलाई विधानमै समावेश गर्ने र केन्द्रीय समितिको आकार बढाएर १५१ सदस्यीय बनाउने निर्णय गरेको छ।

रास्वपाकी सचिवालय सदस्य सरिताश्री ज्ञवालीका अनुसार सभापति लामिछानेले चाहेमा आगामी दश वर्षसम्म उनी नै पार्टी सभापति बन्ने र प्रधानमन्त्रीमा बालेन्द्र शाह नै कायम रहने दाबी गरेकी छन्।

स्थानीय तह निर्वाचनका लागि नयाँ 'उम्मेदवार छनोट ढाँचा २०८३' रास्वपाले परम्परागत दलहरूमा देखिने नातावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्न आगामी स्थानीय तहको निर्वाचनका लागि 'उम्मेदवार छनोट ढाँचा २०८३'  सार्वजनिक गरेको छ। यसअन्तर्गत उम्मेदवारको अन्तिम मूल्याङ्कनका लागि १०० अंकको भार तोकिएको छ। जसमा लिडरसिप एकेडेमी (२५%), राजनीतिक निकटता (२५%), समावेशिता (१०%) र ब्लकचेन प्रविधिमार्फत हुने प्रारम्भिक निर्वाचन अर्थात् प्राइमरी इलेक्सनलाई (४०%) भार दिइएको छ।

उम्मेदवार बन्नका लागि डिजिटल अपराध वा सहकारी ठगीमा संलग्न नभएको घोषणा तथा प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको छ। यस प्रक्रियामा आर्थिक चलखेल रोक्न पार्टीले 'शून्य सहनशीलता' (Zero tolerance) को नीति अपनाउने र त्यस्तो पाइएमा तत्काल पार्टी सदस्यता खारेज गरिने जनाएको छ।

रास्वपाको नीति र विचार विगतमा राष्ट्रिय राजनीतिक दल एउटै नेतामा मात्र निर्भर रहँदा संस्थाको स्वास्थ्य र दीर्घायुमा असर पर्ने भन्दै आलोचना हुँदै आएको थियो। तर, अहिले रास्वपाले 'सामाजिक न्यायसहितको उदार अर्थतन्त्र' र शान्तिपूर्ण मार्गबाट समाजवादका लक्ष्य हासिल गर्ने 'संवैधानिक समाजवाद' लाई आफ्नो मूल नीतिका रूपमा अघि सारेको छ।

सभापति लामिछानेले रास्वपा केही व्यक्तिको प्रयासले मात्र नभई मतदाताको विश्वास र सदस्यहरूको समर्पणबाट यहाँसम्म आइपुगेको भन्दै अब पार्टीलाई वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बनाउने लक्ष्य रहेको बताएका छन्।