काठमाडौं—सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन र भ्रामक विज्ञापनहरू तत्काल हटाउन विज्ञापन बोर्डले कडा निर्देशन दिएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बोर्डले यस्ता भ्रामक विज्ञापन रोक्न सार्वजनिक सूचना नै जारी गरेको हो।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार, विशेषगरी कपाल उमार्ने, हड्डी तथा नसाको पीडा निको पार्ने, शरीरको बोसो घटाउने र किड्नी सफा गर्ने जस्ता झुटा दाबी गरिएका औषधिजन्य सामग्रीको व्यापक प्रचार सामाजिक सञ्जालमा भइरहेको छ। आधिकारिक प्रमाणीकरण र वैज्ञानिक आधारबिनाका यस्ता भ्रामक विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै आर्थिक ठगीको जोखिम बढाएको बोर्डको निष्कर्ष छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण गरे/गराएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी बोर्डले दिएको छ। यस्ता भ्रम र अफवाह फैलाउने विज्ञापनले सर्वसाधारणलाई गलत उपचारतर्फ धकेलिरहेको भन्दै सामाजिक सञ्जालमा त्यस्तो पाइएमा तत्काल उजुरी गर्नसमेत बोर्डले सबैमा आग्रह गरेको छ।



















