काठमाडौं—भारतको छत्तीसगढ राज्यअन्तर्गत कोरिया जिल्लामा अवैध बालुवा उत्खननको विषयलाई लिएर भएको विवाद हिंसात्मक बन्दा भाजपा नेता भरत सिंह गहरवारसहित तीन जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार सोनहट प्रहरी चौकी क्षेत्रको नवगाईमा अवैध बालुवा उत्खननलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि घटना भएको हो। मृतकमध्ये एक भाजपा नेता तथा पूर्व जिल्ला पंचायत अध्यक्ष भरत सिंह गहरवार रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार आक्रमणकारीहरूले डम्प ट्रक प्रयोग गरी कारको अगाडि र पछाडिको बाटो अवरुद्ध गरेका थिए। त्यसपछि कारभित्र रहेका व्यक्तिहरू बाहिर निस्कन नपाउँदै गाडीमा पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ। आगलागीमा परी कारभित्रै तीन जनाको मृत्यु भएको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज त्रिपाठी, अक्षत त्रिपाठी, विशाल त्रिपाठी र सत्यप्रकाश त्रिपाठीलाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना एउटै परिवारका सदस्य रहेको भारतीय प्रहरीले जनाएको छ।
कोरियाका अतिरिक्त प्रहरी अधीक्षक सुरेश चौबेका अनुसार घटनामा संलग्न थप पाँच जना फरार रहेका छन्। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न दुवै पक्ष भाजपा समर्थित समूहसँग सम्बन्धित रहेको र उनीहरूबीच लामो समयदेखि स्थानीय वर्चस्व तथा अवैध बालुवा उत्खननको विषयमा विवाद हुँदै आएको जनाएको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




















