धरान । सामन्ती व्यवस्थाका दलालहरुलाई परास्त गर्दै समाजवाद लागु गर्न धरानको उपनिर्वाचनमा युवाहरुलाई सक्रिय रहन नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला ईन्चार्ज धर्मराज निरौलाले निर्देशन दिएका छन् ।
नेकपाको युवा परिचालन तथा स्वयंसेवक प्रशिक्षण भेलामा ईन्चार्ज निरौलाले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्दै समृद्ध नेपालको स्थापना नेकपाको जितबाट मात्रै सुनिश्चित हुने भएकाले सम्पुर्ण युवाहरु उपनिर्वाचन केन्द्रित भई नेकपालाई जिताउन निर्देशन दिएका हुन् ।
धरानको सैनिक भवनमा आयोजित प्रशिक्षण भेलामा निरौलाले समृद्धि मुलुक रुपान्तरणमा उपनिर्वाचनको सन्दर्भ जोडिएको बताउँदै राष्ट्रिय अर्थतन्त्रको समृद्धि निर्वाचन संग जोडिएको बताए । उनले भने, ‘निर्वाचन निर्वाचनका लागि मात्रै होईन्, समृद्धिको आधार निर्माण गर्न निर्वाचन जोडिएको छ, त्यसैले एकताबद्ध भएर युवाहरु निर्वाचनमा होमिदै नेकपालाई जिताउन आवश्यक छ ।’
कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङबोले बामपन्थीहरुको नगरलाई कायम राख्न पनि कम्युनिष्टको जित आवश्यक रहेको बताए । उनले स्वर्गीय मेयर तारा सुब्बाको अधुरो सपना पुरा गर्न पनि नेकपाको तर्फबाट प्रकाश राईको जित आवश्यक रहेको बताए । उनले भने, ‘नेकपाको निर्वाचनको जित एक पटकको लागि मात्रै होईन्, शान्तिपुर्ण निर्वाचनको माध्यमबाट सयौं वर्ष सम्म जित हासिल गर्दै धरानको विकाश र समृद्धि गर्नुपर्नेछ, त्यसैले युवाहरुको महत्वपुर्ण भुमिका रहनेछ ।’
संघले मंसिर १४ गते हुने निर्वाचनमा प्रत्येक बुथमा स्वयंसेवकको रुपमा २ हजार ८ सय २० जना युवाहरु परिचालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हरि लिम्बुको सभापतित्वमा भएको प्रशिक्षण भेलामा सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।




















