काठमाडौं—नेकपा एमालेका सचिव महेश बस्नेत ले उपाध्यक्ष विष्णु पौडेल माथि लगाइएका सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपहरूलाई भ्रामक र तथ्यहीन भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले बुटवलका कृषक शशी पौडेलको जग्गा तथा अन्य व्यक्तिको सम्पत्तिलाई केवल ‘पौडेल’ थर मिलेकै आधारमा विष्णु पौडेलसँग जोड्ने प्रयास गरिएको आरोप लगाए। उनले यस्ता गतिविधिले जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्य राखेको दाबी गरे।

बस्नेतका अनुसार कमलकिशोर मालपानी र चुन्नुप्रसाद शर्मासँग सम्बन्धित श्रीराम टोबाको को शेयरसमेत विष्णु पौडेलको सम्पत्ति भएको भन्दै प्रचार गरिएको छ, जुन वास्तविकतासँग मेल नखाने विषय भएको उनको भनाइ छ।

उनले विष्णु पौडेललाई केही व्यक्तिको बयानका आधारमा मात्र विवादमा तानिएको दाबी गर्दै कुनै ठोस प्रमाणबिना राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाउने काम भइरहेको बताए। बस्नेतले तथ्य र प्रमाणभन्दा पनि हल्ला तथा अनुमानका आधारमा व्यक्तिको चरित्रहत्या गर्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उल्लेख गरेका छन्।

यस विषयमा विष्णु पौडेल पक्षका कानुन व्यवसायीहरूले समेत उनीविरुद्ध लगाइएका आरोप प्रमाणविहीन रहेको दाबी गर्दै आएका छन्। उनीहरूले शेयर कारोबारमा पौडेलको संलग्नता पुष्टि हुने कुनै प्रमाण नभएको र राजनीतिक उद्देश्यका साथ विवादमा मुछ्ने प्रयास भएको जिकिर गरेका छन्।

बस्नेतले कानुनी प्रक्रियालाई निष्पक्ष ढंगले अघि बढाउन तथा प्रमाणबिना कसैको प्रतिष्ठामाथि आघात पुग्ने गरी प्रचार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।