चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि जारी मतदानअघि विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम तलमाथि पारिएको भन्दै गम्भीर विवाद सिर्जना भएको छ। निर्वाचन प्रक्रियामा 'जालझेल' भएको भन्दै पार्टीका जिम्मेवार तथा ‘संस्थापन’ निकटकै नेताहरूले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
विद्युतीय मतदान प्रणालीमा प्रस्तुत उम्मेदवारको नामावली न त उम्मेदवारी दर्ताको क्रम संख्याअनुसार राखिएको छ, न त नामको वर्णानुक्रम (अल्फाबेटिक अर्डर) अनुसार नै मिलाइएको छ। सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नेमध्येका एक उम्मेदवारले शीर्ष नेतृत्वले हरेक क्लस्टरबाट आफूले जिताउन चाहेका व्यक्तिहरूको नाम अघिल्लो क्रम संख्यामा समावेश गरेको दाबी गरेका छन्। वरिष्ठ नेता बालेन्द्र शाह पक्षका उम्मेदवारहरू प्रतिनिधिहरूबीच त्यति परिचित नभएका कारण उनीहरूलाई नै जिताउन त्यस्तो गरिएको हुन सक्ने ती उम्मेदवारले आशंका व्यक्त गरेका छन्।
ती उम्मेदवारका अनुसार यस विषयमा मतदानअघि नै नेतृत्वको ध्यानाकर्षण गराइएको थियो। "यस्तै होला भनेर सभापतिज्यूलाई मैले हिजो दिउँसो नै कुरा राख्दा उहाँले आफू दबाबमा रहेको भन्दै यो चुनावको जितहारलाई त्यति ठूलो नबनाइदिन आग्रह गर्नुभएको थियो," ती उम्मेदवारले भने।
मतदानका लागि तयार पारिएको सूचीमा उम्मेदवारहरूको दर्ता नम्बर मात्र होइन, कतिपयको क्लस्टर नै परिवर्तन भएको पाइएको छ। सभापति लामिछाने निकटका नेता दीपक बोहराले 'खुलातर्फ' उम्मेदवारी दर्ता गराएका थिए, तर मतपत्रमा उनको नाम 'सुदूरपश्चिम भूगोल'बाट आएको छ। त्यसैगरी, संस्थापन निकट मानिने अधिवक्ता यज्ञमणि न्यौपानेले आफूले सुरुमै उम्मेदवारी दर्ता गरे पनि सूचीमा ४२ नम्बरमा नाम राखिएको भन्दै असन्तुष्टि जनाएका छन्। अन्य उम्मेदवारहरूको क्रम संख्यामा पनि व्यापक हेरफेर गरिएको छ। नेतृ आशिका तामाङले ३७ नम्बरमा आफ्नो नाम दर्ता गरेकी थिइन्, तर सूचीमा उनी १०६ नम्बरमा पुगेकी छन्। यस्तै, नेता गणेश कार्कीले आफ्नो नाम ‘जालझेल’ गरेर १३३औँ नम्बरमा पुर्याइएको गुनासो गरेका छन् भने वरिष्ठ नेता बालेन शाह निकटका इ. रोहन कार्कीले पनि खुलातर्फ आफ्नो मनोनयन दर्ता नम्बर १२ रहेकोमा अहिले ३० नम्बरमा पारिएको गुनासो गरेका छन्।
नेतृत्व चयनजस्तो आन्तरिक लोकतन्त्रको महत्त्वपूर्ण अभ्यासमा उम्मेदवारहरूको सूचीमै यसरी मनोमानी गरिएपछि रास्वपाको निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।



















