काठमाडौं—नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले सुशासनको नाममा विपक्षी दलका नेताहरूलाई लक्षित गर्दै बङ्गलादेश र पाकिस्तान मोडलको लोकतन्त्रको अभ्यास गर्न खोजेको गम्भीर आरोप लगाएकी छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै सांसद झाँक्रीले आफ्ना पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाएकी हुन्। अनुसन्धान र बयानका लागि जतिबेला पनि उपस्थित हुन सक्ने व्यक्तिलाई सरकारविरुद्धको आवाज दबाउने उद्देश्यले पक्राउ गरिएको उनको दाबी छ।
सरकारले दिने 'सुशासन र डेलिभरी'को नाराप्रति प्रश्न उठाउँदै उनले भनिन्, "एक जना मान्छेको बयानका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्रीलाई समातिएको छ। के यही हो सुशासन?"
सरकारले दोहोरो मापदण्ड अपनाएको र आफ्नालाई जोगाएर विपक्षीलाई मात्र 'टार्गेट' गरेको झाँक्रीले बताइन्। आफ्नै पार्टीका नेतालाई लागेको फौजदारी अभियोगमा अदालतबाट निर्दोषिताको प्रमाणपत्र ल्याउनुको सट्टा सरकारले नै मुद्दा फिर्ता लिने काम गरेको भन्दै उनले सरकारको कार्यशैलीको कडा आलोचना गरिन्।
प्रतिस्पर्धी राजनीतिक दलका नेताहरू, व्यवसायीहरू र नागरिक समाजलाई समेत चुप लगाउन सरकारले मान्छेहरूलाई समाउने नीति लिएको र यो 'बङ्गलादेश र पाकिस्तान मोडलको प्रजातन्त्रको अभ्यास' भएको उनको टिप्पणी छ।




















