काठमाडौं— जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्।

आगामी असार १४ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल सहभागी हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

यस्तै, कार्यक्रममा झलनाथ खनालउपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि कम्युनिस्ट शक्तिबीच सहकार्य र एकताको बहस चलिरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्। पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच एकताको सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

यसअघि विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकमा पुष्पकमल दाहालले तत्काल पार्टी एकता सम्भव नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गर्दै अघि बढ्ने तयारी भइरहेको बताएका थिए।