काठमाडौँ—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरूविरुद्ध अनेक प्रकारका आरोप गढिएको र जनतामा भ्रम छरिएको बताएका हुन्।
अध्यक्ष ओलीले गुनासो गर्दै भने, "जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ।" काम गर्ने क्रममा केही कमीकमजोरी रहेका हुन सक्ने र त्यसको आत्मसमीक्षा गर्न आफूहरू तयार रहेको बताउँदै उनले 'देश बर्बाद पार्यौँ' भन्ने भाष्य पूर्ण रूपमा गलत भएको जिकिर गरे। उनले देशलाई बर्बाद नपारी अगाडि बढाएको दाबी गरे।
आफूहरूले नै विकास निर्माणका काम अघि बढाएको उल्लेख गर्दै ओलीले गलत काम गरेर, अयोग्य भएर वा विकासका काम गर्न नसकेर युवा र जनतामा असन्तुष्टि नबढेको स्पष्ट पारे। उनले झुटा प्रचार र अफवाहका भरमा पार्टीलाई बदनाम गराउने प्रयास मात्र भएको बताएका छन्।




















