काठमाडौँ—कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सम्पूर्ण सांसदहरूलाई आफ्नो व्यवहार, बोलिने भाषा र लगाउने पोशाकमा विशेष ध्यान दिन आग्रह गरेकी छन्। ६८ औँ संसद दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले उक्त कुरा बताएकी हुन्।

विगतको तुलनामा अहिले संसदको गुणस्तर खस्किँदै गएको भन्दै उनले सम्पूर्ण सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरिन्। "हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ," कार्यक्रममा बोल्दै मन्त्री गौतमले भनिन्। सांसदहरू आफ्नै व्यवहारबाट मर्यादित भए मात्र संसदको गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुने उनको भनाइ थियो। साथै, सदनलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने सुझाव समेत उनले दिएकी छन्।

यद्यपि, एकातिर सरकारकै कानुनमन्त्रीले संसदीय मर्यादामा जोड दिइरहँदा अर्कोतिर स्वयं प्रधानमन्त्री बालेन्द्र साहका गतिविधिमाथि भने गम्भीर प्रश्न उठेको छ।

संसदमा उपस्थित हुनै अनिच्छुक देखिने प्रधानमन्त्री साहले कहिलेकाहीँ संसदमा जाँदा पनि औपचारिक पोशाक नलगाउने गरेको भन्दै आलोचना हुँदै आएको छ। त्यस्तै, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला उनी फुत्त उठेर हिँडेका कारण प्रतिनिधिसभा नियमावली तोडिएको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्रीको लगातार विरोध गर्दै आएका छन्। कानुनमन्त्रीको भनाइ र प्रधानमन्त्रीको कार्यशैलीबीच देखिएको यो विरोधाभासले यतिबेला राजनीतिक वृत्तमा चर्चा पाएको छ।