काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले तत्काल पार्टी एकताको सम्भावना नरहेको भन्दै त्यससम्बन्धी भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। यद्यपि, अपहरित लोकतन्त्र पुनःस्थापनाका लागि लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच संयुक्त संघर्ष आवश्यक रहेको उनले बताएका छन्।
राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी र राष्ट्रवादी शक्तिबीच कार्यगत एकताको आधारमा संयुक्त आन्दोलन अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उनले एमालेले कुनै पनि समूह वा संस्थासँग औपचारिक पार्टी एकता नगर्ने स्पष्ट पार्दै पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेटिने बताए। विगतका पार्टी एकतामा अपेक्षित पवित्रता नदेखिएको उल्लेख गर्दै उनले स्वार्थ, गठजोड र दाउपेचका कारण एकताको उद्देश्य कमजोर बनेको टिप्पणी गरे।
ओलीले गत फागुन २१ गतेको निर्वाचन र २०८२ भदौ २३–२४ गतेका घटनाबारे पनि टिप्पणी गरे। ती घटनालाई वैधानिकता दिन नाटक मञ्चन गरिएको दाबी गर्दै उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनसम्म सुरक्षा संयन्त्र किन निष्क्रिय रह्यो भन्ने विषय उल्लेख नभएकाले आयोगले वास्तविक घटनालाई ढाकछोप गरेको आरोप लगाए।
उनले पार्टीभित्र अझ बलियो एकताको आवश्यकता औंल्याउँदै बाह्य आक्रमण र चुनौतीबीच एमालेलाई विजयतर्फ अघि बढाउन सबै नेता–कार्यकर्तासँग रचनात्मक सुझाव र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।




















