काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका समाचारहरूलाई आधार मान्दै आयोगले रास्वपाको केन्द्रीय कार्यालयसँग यस विषयमा यथार्थ विवरण माग गर्दै पत्राचार गरेको हो।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी प्रेस नोट अनुसार, रास्वपालाई यही असार १५ गते नै पत्र पठाई विवरण माग गरिएको हो।

पार्टीको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको एक प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई समेत दलको सदस्यता वितरण गरिएको उल्लेख भएको समाचारप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बालबालिकाहरूलाई राजनीतिक दलको सदस्यका रूपमा सङ्गठित गर्ने वा सदस्यता दिने कार्य प्रचलित नेपाल कानुन र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू विपरीत हुने आयोगले स्पष्ट पारेको छ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार आयोगले रास्वपालाई बालबालिकालाई पार्टी सदस्यता वितरण भए/नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत र आधिकारिक जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।

NHRC Nepal Press Note 2083-3-17_page-0001