काठमाडौं—प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा सरकारले सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण र सहकारीसम्बन्धी तीन महत्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेको छ।
बैठकको सुरुआतमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव पेश गर्नेछिन्। विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् र अन्तिम रूपमा विधेयक पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ सम्बन्धी दफावार छलफल सम्पन्न भएको प्रस्ताव, संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्ने तथा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
आजको बैठकमा यी तीनवटै विधेयक पारित गर्ने सरकारको तयारी रहेकाले संसद्को बैठकलाई महत्वपूर्ण मानिएको छ।




















