काठमाडौं—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको माग गर्दै पार्टीविरुद्ध गतिविधि गरिरहेका नेताकार्यकर्तालाई पार्टी छाड्न चेतावनी दिएका छन्।

शनिबार इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टी रूपान्तरणका नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै त्यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएका हुन्।

पार्टीको विरोध गर्दै सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगा गर्ने गतिविधि बन्द गर्न उनले आग्रह गरे। यस्ता गतिविधि नरोकिए अनुशासनको कारबाही गरिने ओलीको चेतावनी छ।

ओलीले फागुन २१ गते हुने निर्वाचनमा एमालेको मत घट्नु गम्भीर विषय भएको पनि बताएका छन्। पार्टी सदस्यको संख्या धेरै भए पनि मत कम हुने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।