काठमाडौं — नेकपा एमालेका प्रमुख सचेतक ऐन महर ले गृहमन्त्री सुधन गुरुङ लाई सामाजिक सञ्जालमा भाइरल हुने गतिविधिभन्दा त्रिशूली–३ ए सुरुङमा फसेका नागरिकको उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्।
बाढीपछि सुरुङबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले हेलिकोप्टरतर्फ लैजाँदै गर्दा गृहमन्त्रीले स्लाइन बोकेर भिडियो खिचाएको घटनाप्रति लक्षित गर्दै महरले यस्तो टिप्पणी गरेका हुन्।
महरले गृहमन्त्रीले उद्धार अभियानको नेतृत्व सम्हालेर सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन्। अझै अन्य सुरुङमा नागरिक फसेको भए उनीहरूको उद्धारका लागि तत्काल आवश्यक निर्णय लिन र सम्पूर्ण राज्यशक्ति परिचालन गर्न उनले आग्रह गरेका छन्।
“गृहमन्त्रीज्यू! प्लिज, तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस्, सञ्चार गर्नुहोस् र आवश्यक निर्णय गर्नुहोस्,” महरले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले फसेका नागरिकको जीवन रक्षा राज्यको पहिलो कर्तव्य भएको उल्लेख गर्दै आवश्यक परे अन्तर्राष्ट्रिय सहयोगसमेत लिन सरकार पछि हट्न नहुने बताएका छन्। सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग तत्काल छलफल गरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्नुपर्ने उनको भनाइ छ।
महरले राहत कोषमा पर्याप्त रकम रहेको उल्लेख गर्दै उद्धारका लागि आवश्यक विज्ञ र प्राविधिकलाई तत्काल परिचालन गर्न आग्रह गरेका छन्। सुरुङभित्र फसेका नागरिकको जीवन रक्षाका लागि एक–एक सेकेन्ड महत्त्वपूर्ण हुने उनको तर्क छ।
त्यस्तै, गृहमन्त्री आफैँले अक्सिजन सिलिण्डर बोक्नेभन्दा उद्धार अभियानको व्यवस्थापन र नेतृत्वमा केन्द्रित हुनुपर्ने उनको टिप्पणी छ।
“तपाईं यसै भाइरल हुनुहुन्छ। सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब गर्ने होइन, नागरिकको जीवन बचाउने काममा लाग्नुस्,” महरले लेखेका छन्।
महरको यो टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ।


