काठमाडौं—जेन्जी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आयोजित कार्यक्रममा होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा परेका युवकको परिचय खुलेको छैन। उनले आफू जेन्जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएको दाबी गरेका छन्।
कार्यक्रममा गृहमन्त्री सुदन गुरुङसहित अन्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमका क्रममा जेन्जी आन्दोलनका एक सहिदकी आमाले आफूहरूले अहिलेसम्म न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। त्यसपछि केही स्वयंसेवकले उनलाई चुप लाग्न आग्रह गरेका थिए।
त्यसपछि ती युवकले महिलाको पक्षमा बोल्दै उनलाई आफ्नो कुरा राख्न दिनुपर्ने बताएका थिए। उनले गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखी लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनाबारे प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


