काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि शहीद र घाइते परिवारले न्याय नपाएको गुनासो गरिन्।
उनले मंगलबार आयोजित जेनजी शहीदहरूको स्मृति सभामा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। आफूहरूले बिहानैदेखि कार्यक्रममा आउन र शहीदका नाममा केही बोल्न आग्रह गरे पनि प्रधानमन्त्रीबाट साँझ मात्रै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त भएको उनले बताइन्।
“जेनजी आन्दोलन भएको एक वर्ष भयो। जेनजी आन्दोलनले देशले शहीद पायो, एक दिन बिदा पायो। बिहान ७ बजेदेखि आउनुस्, केही बोलिदिनुस्, शहीदका नाममा केही लेखिदिनुस् भनेर आग्रह गर्यौं। बेलुकी ७ बजे मात्रै स्टाटस आयो। अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली आयो,” उनले भनिन्।
सांसद खतिवडाले त्यसपछि सरकारलाई दुई वटा प्रश्न पनि गरिन्।
“शहीदले न्याय कति वर्षमा पाउँछन्, सरकार? शहीद र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ?”
रचना खतिवडा गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका २३ वर्षीय रसिक खतिवडाकी आमा हुन्। उनी हाल रास्वपाको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य रहेकी छन्।


