दुबई, यूएई— नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईले भोटेकोशी बाढी तथा पहिरोपीडितको सहयोगार्थ संकलित रकममध्ये ४ लाख ६१ हजार ९ सय ८१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
नेफिन यूएई तथा आबद्ध जातीय संस्थाहरूको पहलमा सञ्चालित राहत अभियानबाट संकलित ११ हजार ११२.६० यूएई दिराम बराबरको रकम कोषमा पठाइएको हो।
गत भदौ १० गते रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, त्रिशूलीलगायत क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि नेफिन यूएईले राहत अभियान सञ्चालन गरेको थियो।
अभियानबाट संकलित रकमको ६० प्रतिशत उद्धार कोषमा र बाँकी ४० प्रतिशत प्रत्यक्ष प्रभावितलाई राहत वितरण गर्ने निर्णय गरिएको थियो। सोहीअनुसार कोषमा रकम जम्मा गरेपछि बाँकी ७ हजार ४०८.४० यूएई दिराम प्रत्यक्ष पीडितलाई राहत वितरणका लागि छुट्याइएको नेफिन यूएईले जनाएको छ।
महासंघका अनुसार प्रभावितहरूको विवरण संकलन भइरहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि छुट्याइएको रकम वास्तविक पीडितलाई प्रत्यक्ष राहतस्वरूप वितरण गरिनेछ।
नेफिन यूएईले विपद्को कठिन घडीमा सहयोग गर्ने आबद्ध जातीय संस्था, प्रतिनिधि तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।



