अबुधाबी — संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा संविधानका उपलब्धिको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार र मुलुकमा सुशासन, शान्ति, विकास तथा समृद्धिका लागि सबैको सकारात्मक भूमिकामा जोड दिइएको थियो।

कार्यक्रमको सुरुआत राष्ट्रिय झण्डोत्तोलन, राष्ट्रियगान तथा ज्ञात–अज्ञात शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरेर गरिएको थियो। कार्यक्रममा राजदूतावासका कूटनीतिक कर्मचारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई, नेपाली समाज यूएई, आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई, विभिन्न सामाजिक, वैचारिक तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत  तेजबहादुर क्षेत्रीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानले सुनिश्चित गरेका हक, अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप संस्थागत बनाउनु सबैको साझा दायित्व भएको बताए।

Untitled design (7) 19राजदूत क्षेत्रीले दिगो शान्ति, विकास, समृद्धि र सुशासनका लागि सरकार, नागरिक समाज र प्रवासी नेपाली समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि सक्दो सहयोग गर्न पनि प्रवासी नेपाली समुदायलाई आह्वान गरे।

कार्यक्रममा एनआरएनए यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले संविधानको प्रभावकारी कार्यान्वयन र नागरिक अधिकारको संरक्षणमा सबै पक्षले सक्रिय योगदान दिनुपर्ने धारणा राखे।

राजदूतावासकी काउन्सेलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन द्वितीय सचिव  राधारमण दुब्बेले गरेका थिए।

Untitled design (9) 18