इटहरी — सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीका क्रममा रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हेमनारायण यादवकी ३८ वर्षीया श्रीमती सीता यादव रहेकी छन्।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार आइतबार दिउँसो करिब २ बजे सीता बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न गएकी थिइन्। सोही क्रममा अचानक चलेको हावाहुरीले नजिकै रहेको सिमलको रुखको हाँगा भाँचिएर उनीमाथि खसेको थियो।
गम्भीर घाइते भएकी सीतालाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित मोरङ सरकारी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापाको नेतृत्वमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


